४ चैत, डडेल्धुरा। अहिले त्रिभुवन विश्वविद्यालयका आंगिक र मातहतका प्राय: जसो क्याम्पसहरुमा स्ववियु निर्वाचनले माहोल तातिरहेको छ। सबैजसो क्याम्पसहरुमा स्वतन्त्र विधार्थी यूनियनको चुनाव बहसको विषय बनिराखेको छ।
पुर्व देखि पश्चिम सम्मका अधिकांश क्याम्पसहरुमा विभिन्न पार्टीका विभिन्न भातृ संगठनहरु चुनावी परिणाम आफ्नो हातमा पार्न साम, दाम, दण्ड र भेदको प्रयोग गरिरहेका छन्।
विश्वविधालय को राजनीति मार्फत कुनै बेला राष्ट्रीय राजनीति मै अब्बल दर्जा पाएको स्वतन्त्र विधार्थी युनियन (स्ववियु) को चुनावले यतिबेला फेरी विधार्थी राजनीतिलाई तताएको छ । पंचायत कालिन समयमा दलहरुमाथि प्रतिबन्ध लागेको बेला स्ववियु एउटा अब्बल राजनैतिक जत्थाको रुपमा स्थापित हुन सफल भयो । कुनै बेला राजनैतिक दलसरहको मान्यता स्थापित गर्न सफल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पछिल्लो समयमा भने क्याम्पसमा विद्यार्थीहरुको साझा संगठन हाे। सामान्यतया: स्ववियुले विद्यार्थी र क्याम्पस प्रशासनबीच समन्वयको काम गर्छ। विद्यार्थीको समस्या र गुनासो क्याम्पस प्रशासनसम्म पुर्याउने र त्यसलाई हल गर्ने प्रमुख दायित्व स्ववियूको हो। क्याम्पसमा विद्यार्थी हक हितको विषयको नेतृत्व गर्दै उच्चस्तरीय राजनैतिक संस्कार सहित भविष्यमा देशकै नेतृत्व लिन सक्ने गरी नेतृत्व विकासको अभ्यास गराउने ठाउँ पनि स्ववियु नै हो । तर पछिल्लो समय विधार्थी राजनीति संगै स्ववियू को औचित्य माथि नै प्रश्न चिन्ह खडा भईरहेको छ। यसको प्रमुख कारण र जिम्मेवारिको पात्र स्वयम् विधार्थी संगठनहरु नै हुन्।
विधार्थीका समस्याहरुबाट निरन्तर रुपमा बेखबर हुने तर जब केही पाउने बेला हुन्छ त्यति नै बेला विधार्थी नेता भनाउदाहरुको जताततै हानथाप सुरु हुन्छ। अहिले डडेल्धुराको डडेल्धुरा बहुमुखी क्याम्पस मा नेविसंघ (वीपी) को राजनीतिमा ठ्याक्कै त्यस्तै कुरा देखिएको छ।
दुई वर्ष अघि भएको स्वतन्त्र विधार्थी यूनियनको चुनावमा नेवि संघ (बिपी) ले चुनाव लडाउन कै लागि विवादास्पद छवि भएका मदन बोहरालाई सभापति पदको लागि उम्मेदवार बनाएको थियो। उक्त चुनाव हारेपछि दुई वर्ष क्याम्पसबाट गायब जस्तै भएका बोहरालाई नेवि संघ (बिपी) ले फेरी यो पाली पनि सभापतिको उम्मेदवारमा दोहोर्याएको छ।
यही कारणले डडेल्धुरा बहुमुखी क्याम्पसको चुनावी चर्चा पनि अहिले चर्चामा छ । जहाँ स्ववियूको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघ (बीपी) को नेतृत्वमा रहेको संयुक्त प्यानलबाट सभापतिमा मदन बोहरा उम्मेदवार छन् भने कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल चुनावी मैदानमा छ । तीन वटै समूह चुनावी नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा छन् ।
नेविसंघ (बीपी)को तर्फबाट सभापतिको उम्मेदवार रहेका बोहरा भने चुनाव लड्नका लागि मात्रै डडेल्धुरा बहुमुखी क्याम्पसको विद्यार्थी बन्ने गरेको खुलेको छ । बोहरा २०७९ चैत्रमा भएको स्ववियु निर्वाचनमा पनि संयुक्त प्यानलकै तर्फबाट सभापतिका उम्मेदवार थिए । उक्त निर्वाचनमा नेविसंघको प्यानल नै विजयी हुँदा बोहरा पराजित भएका थिए । सभापतिमा नेविसंघका दुर्गा भट्ट तीन सय १० मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी बोहराले एक सय सात मत मात्र पाएका थिए ।
०७९ सालमा पनि बोहरा स्ववियुको निर्वाचनको ठिक अगाडि स्नातक तह पहिलो वर्षमा भर्ना भएका मदन यसपटक पनि चुनाव लड्नकै लागि चुनावकाे ठिक अगाडि क्याम्पसमा भर्ना गरेका छन् । दुई वर्षअघि स्नातक प्रथम वर्षमा भर्ना भएका बोहरा यसपटक माघ ९ गते फेरि स्नातक तह प्रथम वर्षमा भर्ना भएका हुन् ।
‘०७९ को निर्वाचनमा पराजित भएपछि बोहरा क्याम्पस फर्केका थिएनन्,’ डडेल्धुरा बहुमुखी क्याम्पसका एक विद्यार्थीले भने, ‘०७९ मा स्नातक प्रथम वर्षमा भर्ना भएको व्यक्ति ०८१ मा फेरी प्रथम वर्षमै भर्ना भएपछि चुनाव लड्नका लागि मात्रै विद्यार्थी बनेको त पुष्टि भइहाल्यो नि ।’ बोहराले पनि आफू ०७९ को स्ववियु निर्वाचन र अहिलेको निर्वाचनमा स्नातक तह पहिलो वर्षमै भर्ना भएको स्वीकार गरे । ‘अघिल्लोपटक भर्ना भएपछि परीक्षा फर्मको समयमा जिल्लाबाहिर हुँदा फर्म भर्न पाएन,’ उनले भने, ‘यसपटक फेरी भर्ना भएको छु ।’ स्ववियु सभापतिका अन्य दुई उम्मेदवार भने स्नातक तह तेस्रो वर्षका विद्यार्थी हुन् ।
एकातिर विद्यार्थीले आफ्नो हकहितका लागि सक्षम नेतृत्व खोजिरहेका छन् भने अर्कातिर मदन बोहरा प्रवृत्तिकै कारण स्ववियू चुनाव राजनीतिक दलहरूको शक्ति प्रदर्शन गर्ने स्थल बन्ने गरेको छ । जसका कारण स्ववियू निर्वाचन विद्यार्थी हकहितको विषयमा केन्द्रित हुनु पर्ने भए पनि अधिकांश क्याम्पसहरूमा यो दलगत स्वार्थको अखडा बन्न पुगेको छ । मुख्य राजनीतिक दलहरूले आफ्नो प्रभाव बलियो बनाउन विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गर्ने परिपाटी पुरानै हो । मदन बोहरा प्रवृत्तिकै कारण विधार्थी नेताहरू राजनीतिक दलका आकाङ्क्षालाई पूरा गर्ने माध्यम मात्र बन्न पुगेका छन् । यो प्रवृत्तिले स्वतन्त्र विद्यार्थी नेतृत्वको सम्भावनालाई झनै कमजोर बनाउँदै लगेको छ। स्ववियू निर्वाचनको उद्देश्य विद्यार्थीहरूको हक, अधिकार र शैक्षिक सुधारमा केन्द्रित हुनुपर्ने हो तर पछिल्लो समय मदन बोहरा प्रवृतिका स्ववियूका उम्मेदवारहरू शिक्षामा सुधार ल्याउने एजेन्डा भन्दा पार्टीका आदेश पालन गर्नमा व्यस्त देखिन्छन् । जसका कारण क्याम्पसमा पठनपाठनको गुणस्तर सुधार, शुल्क वृद्धि, छात्रवृत्ति व्यवस्थापन जस्ता मुख्य शैक्षिक मुद्दा ओझेलमा पर्दै गएका छन् । अहिले विधार्थी राजनीतिमा थुप्रै मदन बोहरा प्रवृतिहरु छन्, जुन प्रवृतिका कारण विद्यार्थीका समस्याहरु खाटमुनी लुकेका बिरालो जस्तै बनिरहेका छन्। अहिले विधार्थी राजनीतिमा बोहरा प्रवृत्ति जस्तै आफ्नो सङ्गठनका खातिर मरीमेट्ने तर विधार्थीहरु माझ भने लामो समयसम्मको वर्षात् पछि झुलुक्क झुल्किने घाम जस्तै बनिरहेका छन्। जसकाकारण विश्वविद्यालयलाई नै राजनीतिबाट मुक्त गनुपर्ने आवाज उठ्न थालेको छ।
ReplyForwardAdd reaction |