विदेशमा रहेका नेपालीका सन्तानलाई मातृभाषा सिकाउने एप ‘बाह्रखरी-लर्न नेपाली’

विदेशमा रहेका नेपालीका सन्तानलाई मातृभाषा सिकाउने एप ‘बाह्रखरी-लर्न नेपाली’


काठमाडौं । करिब एक वर्षअघि रोशन रिजालकी बहिनी विदेशबाट नेपाल फर्किइन् । उनीसँगै डेढ वर्षका छोरा, अर्थात् रोशनका भान्जा पनि नेपाल आएका थिए । भान्जा प्रष्ट नेपाली बोल्न जान्दैनथे, न त घरका अन्य सदस्य नै उनीसँग अङ्ग्रेजीमा कुरा गर्न सक्थे ।

रोशनले यस्तो परिस्थितिको सामना गरेको यो पहिलो पटक थिएन । विदेशमा रहेका आफन्तका छोराछोरीसँग कुरा गर्दा उनले जहिल्यै यस्तै समस्या भोग्नुपर्थ्यो । यो रोशनका लागि समस्या नै त थिएन तर विदेशमा बस्ने नेपालीका सन्तानले नेपाली भाषा नबुझ्ने र बोल्न नसक्ने अवस्था दिनानुदिन बढ्दै जाँदा उनी चिन्तित थिए ।

“भान्जा नेपाल आउँदा भाषाको समस्या भयो,” उनी सम्झिन्छन्, “उनी नेपाली बोल्न र बुझ्न नसक्ने अनि हामी घरपरिवार अङ्ग्रेजी । यता घरमा सबैले नेपालीमै कुरा भइरहने भएकाले भान्जासँग मात्र अङ्ग्रेजी बोल्न पनि समस्या नै थियो ।”

पछिल्ला केही वर्षदेखि नेपाली युवायुवती विदेश पलायन हुने क्रम बढ्दो छ । र विदेशमै घरजम गरी बसोबास गर्ने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । यस्तो अवस्थामा विदेशमा बस्ने नेपालीले आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन सकिरहेका छैनन् । किनकि उनीहरूसँग समयको अभाव छ । “विदेश बसिरहेका नेपालीलाई आफ्नो सन्तानले नेपाली भाषा सिकोस् भन्ने लाग्ने रहेछ,” उनी भन्छन्, “तर, समय दिन पनि पाउँदैनन् । कामको चापले गर्दा नेपाली सिकाउन चाहे पनि सिकाउन सक्दैनन् । कक्षामा नेपाली सिकाउने स्कुल त विदेशमा झन् बिरलै हुन्छन् ।”

विदेश भएका नेपालीका सन्तानले नेपाली भाषा सिक्न नपाउँदा विस्तारै यसले भाषाको ठूलो समस्या निम्त्याउने सक्ने आभास रिजालले गरे । त्यसैलाई कम गर्न उनले बनाए आईओएस एप ‘बाह्रखरी-लर्न नेपाली’ । 

करिब ११ वर्षअघि स्नातकमा कम्प्युटर इन्जिनियरिङ सकेका रिजाल सुरुवातमै आईओएस एप विकास गर्ने काममा लागे । भन्छन्, “त्यतिबेला आईओएस एप बनाउने लहर चलेको थिएन । एक जना साथीले आईओएस एप बनाउन सिके सजिलै काम पाइन्छ भनेर प्रेरित गर्नुभयो ।” साथीकै प्रेरणाले रिजालले आईओएस एप बनाउन सिके । र, सुरुवातदेखि नै त्यसैलाई निरन्तरता दिँदै आइरहेका छन् । 

विदेशमा रहेका अधिकांश आफन्तले आफ्ना सन्तानलाई नेपाली सिकाउन सङ्घर्ष गरिरहेको थाहा पाएपछि रिजालले झन्डै आठ महिनाअघि एप बनाउन सुरु गरे । र, गत जनवरीमा ‘बाह्रखरी-लर्न नेपाली’ एप स्टोरमा सार्वजनिक गरे । 

के छन् एपमा सुविधा ? 

यहाँ क्लिक गरेर एप डाउनलोड गरिसकेपछि होमपेज खुल्छ । त्यसपछि होमपेजमा अ-आ, क-ख, १-२, क-काको बक्स देखिन्छ । 

अ-आ लेखेको बक्समा ट्याप गर्‍यो भने सबैभन्दा पहिले ‘अ’को अप्सन हुन्छ । त्यसमा ट्याप गर्नासाथ ‘अ’को आवाज सुनिन्छ । त्यसपछि कसरी लेख्ने भन्ने देखिन्छ । भने अनुसार लाइन मिलाउँदै जाँदा अक्षर पूरा भएपछि त्यसबाट आउने शब्द सुनिन्छ । उदाहरणका लागि ‘अ’ ट्याप गर्यो भने सबैभन्दा पहिले ‘अ’ भनिएको सुनिन्छ । त्यसपछि भने अनुसार लाइन तानियो भने ‘अ’बाट अनार भन्ने आवाज सुनिन्छ । त्यसपछि स्क्रिनमा ‘आ’ शब्द आउँछ । र, त्यसरी नै शब्द पूरा गर्‍यो भने आबाट ‘आमा’ भन्ने शब्द सुनिन्छ । यसरी नै व्यञ्जनवर्ण, अङ्क, बाह्रखरी सिकाउन सकिन्छ । 

तलपट्टिको एरोमा ट्याप गर्‍यो दोस्रो पेज खुल्छ । त्यसमा शब्द, ड्र, गेम, र क्विजको विकल्प हुन्छ । त्यस्तै तलपट्टि रहेको एरो अप्सन फेरि ट्याप गर्‍यो भने म्युजिक, जनावरको आवाज, लाइन ड्र गेम र बास्केट बल गेम रहेको छ ।

यसरी बालबालिकालाई एपबाट स्वरवर्ण, व्यञ्जनवर्ण, नेपाली शब्द, सङ्ख्या आदि सिकाउन सकिने दाबी रिजालको छ । यसअघि रिजालले एपमा विज्ञापन राखेका थिए । तर, बालबालिकाका लागि तयार पारेको एप भएकाले एप्पलको नीति विपरीत भएपछि रिजालले विज्ञापन हटाउनु पर्‍यो र सब्स्क्रिप्सन मोडेलमा जानुपर्‍यो ।

अहिले एपमा केही अक्षर, शब्द, गेम खेल्न पान्छ । तर, सबै फिचर प्रयोग गर्नका लागि भने शुल्क तिर्नुपर्ने हुन्छ । एक पटक ४.९९ डलर तिरेर सब्स्क्रिप्सन लियो भने एप सधैंका लागि प्रयोग गर्न सकिन्छ । अर्को पटक त्यही एप्पल आईडी लगइन गरेर ‘पर्चेज रिस्टोर’ सकिन्छ । 

यसमा शुल्क नलिने योजना बनाएको भने पनि एपलाई निरन्तरता दिन यो मोडेल अपनाएको उनी सुनाउँछन् । भन्छन्, “मैले विज्ञापन नै राखेर यसलाई अगाडि बढाउने सोचेको थिएँ । तर, विज्ञापन राख्दा बालबालिकाको ध्यान भङ्ग हुन्छ अनि विज्ञापन पनि असम्बन्धित हुन्छ । त्यसैले एक पटक किन्यो भने सधैँभरि पुग्ने मोडेलमा यसलाई सञ्चालन गरिरहेको छु ।”

रिजालले अहिले एप आईओएस भर्सनमा मात्र ल्याएका छन् । यसलाई एन्ड्रोइड भर्सनमा विकास गर्न उनले अर्का एक साथीसँग सहकार्य गरिरहेको बताएका छन् । “विदेशमा बस्ने नेपालीलाई लक्षित भएकाले सबैभन्दा पहिले आईओएसमै ल्याएँ । तर, यो विदेशमा भएकाले मात्र प्रयोग गर्छन् भन्ने हुँदैन । त्यसैले सबै नेपालीले प्रयोग गर्नेगरी एप विकास गरिरहेको छु,” उनी थप्छन् । 

आवाज आफ्नै बहिनीको र भविष्यका योजना !

सुरुमा रिजालले एपमा एआईको आवाज प्रयोग गर्ने योजना बनाएका थिए । तर, एआईले प्रयोग गर्ने भाषाको लवज विदेशी शैलीको भएकाले र शब्द पनि स्पष्ट रूपमा उच्चारण नहुने समस्या देखिएपछि उनले सबै आवाज आफैंले रेकर्ड गरी म्यानुअल्ली राखे । यसमा रिजालकी बहिनीले उनलाई साथ दिइन् । अहिले एपमा सुनिने आवाज रिजालकी बहिनीको हो । उनी भन्छन्, “एआईको आवाज राख्न खोजेको थिएँ । तर ‘क’ भन्दा ‘ख’ जस्तो सुनिने रहेछ । एप नै शुद्ध बोल्न, पढ्न र बुझ्न सिकाउने गरी विकास भएकाले पछि म्यानुअल्ली नै आवाज राखियो ।”

आठ महिनाको अथक प्रयासपछि रिजालले यो एप केही साताअघि मात्रै एप स्टोरमा सार्वजनिक गरेका हुन् । उनले सीमित प्रयोगकर्ताले एप इन्स्टल गरी प्रयोग गरिरहेको दाबी गरे । 

रिजालले बताए अनुसार प्रयोगकर्ताबाट व्यक्तिगत रूपमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । यो एप विशेष वर्गलाईलक्षित गरी निर्माण गरिएको हुनाले एक पटकको शुल्क लिएर सधैं उपलब्ध गराउन सकिने कुरामा उनी विश्वस्त छन् । एन्ड्रोइडमा एप सार्वजनिक भएलगत्तै अन्य आवश्यक फिचर पनि थपिने उनले जानकारी दिए ।