४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरू काठमाडौं बाहिर रहेकाले अध्यादेश अघि बढाउन थप केही दिन समय चाहिएको बताएका छन् ।
‘सांसदहरू बाहिर बाहिर जानुभएको छ । यसकारण छोटो समयमा अध्यादेशलाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने गरी लैजान गाह्रो हुन्छ’, आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले भने ।
आइतबार बिहान सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको थियो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
छलफलपछि पत्रकारहरूले फागुन ६ गते अध्यादेश निर्णयार्थ पेस गर्ने सरकारको तयारीबारे प्रश्न गरेका थिए । जवाफमा उनले सरकारको तर्फबाट त्यस्तो प्रस्ताव आएको भएता पनि सांसदहरू काठमाडौं बाहिर रहेकाले त्यो सम्भव नरहेको बताएका हुन् ।
‘अध्यादेश अगाडि बढाउन हामीलाई कम्तिमा एक हप्ता दश दिनको समय चाहिन्छ । सांसदहरूलाई जम्मा गर्नुपर्यो । अहिले कुम्भ मेला चलिरहेको छ । धेरै सांसदहरू कुम्भ मेलातिर लाग्नुभएको छ । कतिपय सांसदहरू काठमाडौं बाहिर हुनुहुन्छ । तिनीहरूलाई जम्मा गर्न, पूर्वसूचना दिन समय चाहिन्छ’, उनले भने । यसकारणले फागुन ६ गते नै अध्यादेश अगाडि बढाउन सक्ने वतावरण नबनेको उनले बताए ।
प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि अर्को बैठक फागुन ११ गते बस्ने संसदीय कयालेन्डर छ । ११ गते पछाडिको सेडुयलमा अध्यादेश अगाडि बढाइने उनले बताए ।