
जेरुसेलम — इजरायलले बिहीबार ६ सयभन्दा बढी प्यालेस्टिनी बन्दीहरू रिहा गरेको छ । हमासले पहिलो चरणको युद्धविरामअन्तर्गत अन्तिम पटकमा चार इजरायलीको शव हस्तान्तरण गरेसँगै प्यालेस्टिनी बन्दीहरू रिहा भएका हुन् ।
हमासले ८६ वर्षीय स्लोमो मन्सुर, ५० वर्षीय ओहाद याहलोमी, ५० वर्षीय साची इदान र ६९ वर्षीय इत्जिक एल्गारातको शव इजरायललाई हस्तान्तरण गरेसँगै इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनी बन्दी रिहाइ गरेको बीबीसीले जनाएको छ ।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको ६ सातामा पहिलो चरणको अन्तिम पटक बन्दीहरू आदानप्रदान गरिएको हो । तर आगामी दिनमा दुई पक्षबीचको युद्धविराम कसरी अघि बढ्छ भन्ने निश्चित भइसकेको छैन । १५ महिना लामो युद्धपछि हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता १९ जनवरीदेखि कार्यान्वयमा आएको थियो । तीन चरणको युद्धविरामको पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जना मुक्त गर्ने र त्यसको बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गर्ने सहमति भएको थियो ।
युद्धविरामको दोस्रो चरणबारे हुने भनिएको वार्ता हुन सकेको छैन । जसका कारण युद्धविरामको भविष्यबारे अन्योल छाएको हो । हमासले दोस्रो चरणका विषयमा ढिलाइ भएको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । दोस्रो चरणमा युद्ध अन्त्य गर्ने र बाँकी इजरायली तथा प्यालेस्टिनी बन्धक रिहा गर्ने लक्ष्य राखिएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका राजनीतिक सहयोगीहरूले युद्धविराम भंग गर्नुपर्ने सुझाव दिइरहेका छन् ।
इजरालयी प्रधानमन्त्रीको कार्यालयका अनुसार प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा अझै ५९ बन्धक छन् । तीमध्ये आधाभन्दा कम मात्र जीवित रहेको कार्यालयले जनाएको छ । एक जना नेपाली युवा विपिन जोशी पनि हमासको नियन्त्रणमा छन् । कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४८ हजार १ सय ८९ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । इजरायलतर्फ करिब १४ सयभन्दा बढीको ज्यान गएको छ ।
मध्यस्थकर्ताहरूले बाँकी बन्धकहरूको रिहाइका लागि दोस्रो चरणको वार्ता सुरु गर्ने योजना बनाएको जनाएका छन् । युद्धविरामको दोस्रो चरणमा हमासले बाँकी बन्धक तथा मृतकको शव हस्तान्तरण गर्ने र गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने सम्झौतामा उल्लेख छ । तेस्रो चरणमा गाजाको पुनर्निर्माणको योजना समेटिएको छ ।
यसअघि इजरायलले युद्धविरामका सर्त उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ रोक्ने बताएको थियो । सम्झौताअनुसार इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता हुन नदिएको, स्थानीयमाथि गोली चलाएको र मानवीय सहायता वितरणमा अवरोध उत्पन्न गरेको भन्दै हमासले बन्धक रिहा नगर्ने जनाएको थियो । तर त्यसको प्रतिक्रियामा इजरायलले युद्धविराम भंग हुने र इजरायली फौजले हमास पराजित नभएसम्म लडाइँ जारी राख्ने चेतावनी दिएका थिए ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बन्धक रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई सिध्याउने चेतावनी दिएका थिए । त्यसलगत्तै इजिप्ट र कतारको मध्यस्थतामा भएको वार्तापछि हमास युद्धविराम सम्झौताअनुसार नै बन्धक रिहा गर्न तयार भएको हो ।