फिल्म ‘पहाड’ को छायाङ्कन सुरु

फिल्म ‘पहाड’ को छायाङ्कन सुरु


निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरू भएको छ। गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरू गरिए तापनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो। आफ्नो स्वास्थ्य अनुकूल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए।

युवाजनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए।

उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’

स्वास्थ्यलाभ गरेर छायाङ्कनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँउर्जाका साथ काम भइरहेको बताए। ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्म समेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्।

छायाँकार प्रधानतीस वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन्। फिल्मको छायाङ्कन गोरखा रआसपासमा २५ दिन र भारतमा १५ दिनहुने निर्देशक घिमिरेले जानकारी दिए।

भाग्यरत्नफिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरिरहेका छन्।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमादर्शक सामू ल्याउदैछन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।

यसमा रञ्जित गजमेर सङ्गीतनिर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। रिम्पोछे लामाथिङ्ग र सुरेश लामाथिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनलफिल्म्सले वितरण गर्नेछ।

यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो। पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गरेका हुन्।