काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले क्यारिकेचर पेशा संकटमा पर्नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चलचित्र ‘लाज शरणम्’ले सामाजिक सञ्जाल तथा इन्टरनेटबाट सामग्री हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन् ।
घिमिरेले फेसबुकमा लेखेका छन्, “क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ । नमिले फ्लप । मिले लफडा ।” अदालतको आदेशपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा प्राइभेट गरिएको छ र प्रचारप्रसार पनि ठप्प भएको छ । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भनिएको यो चलचित्रको टिजरमा सीताराम कट्टेललाई ‘नेता’को भूमिकामा देखाइएको छ ।
पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले आफ्नो अनुमतिबिना आफ्नो अनुहारसँग मिल्दोजुल्दो आकृति प्रयोग गरिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले चलचित्र जाँच समितिबाट अनुमति नपाएसम्म प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको छ । यसअघि चलचित्रको ‘नेपाल हाँसेको’ र ‘भोले बम बम’ बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।
अदालतको आदेश आएसँगै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ र कतिपय फिल्म निर्माता तथा कलाकारले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजले पनि अदालतको आदेशले सिर्जनशील सर्जकलाई झस्काएको प्रतिक्रिया दिएको छ ।
अदालतको आदेशपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा प्राइभेट, प्रचारप्रसार ठप्प