सरकार ढलिहाल्छ भन्ने हल्ला चल्या छ, तोपै हानेपनि अब १७ महिना म प्रधानमन्त्री रहन्छु, त्यसपछि देउवाजीको पालोः ओली

सरकार ढलिहाल्छ भन्ने हल्ला चल्या छ, तोपै हानेपनि अब १७ महिना म प्रधानमन्त्री रहन्छु, त्यसपछि देउवाजीको पालोः ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै बल गरेपनि आफू नेतृत्वको वर्तमान सरकार १७ महिना केही नहुने दाबी गरेका छन् ।

सोमबार लुम्बिनी प्रदेश सभाको प्रदेश सभामा विशेष सम्बोधन गर्दै ओलीले सरकार ढलोस् भनेर तोपै पड्काए पनि १७ महिनासम्म सरकार परिवर्तन नहुने दाबी गरेका हुन् । १७ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तानान्तरण गर्ने बताएका छन् ।

‘यो सरकार ढलिहाल्छ भन्ने हल्ला चल्या छ । यस्तो हल्ला नचले हुन्थ्यो । यसले युवामा निराशा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब १७ महिना पनि बाँकी छ कि छैन, शायद ७ महिना बितिसक्यो । अबको १७ महिना मैले चलाउँछु । आफैं छाड्छु बेला पुगेपछि, बल गर्नै पर्दैन । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । कुरा क्लियर छ ।’

उनले मुलुक अप्ठ्यारोमा परेपछि कांग्रेस–एमाले मिलेको दाबी गरे ।

‘कांग्रेस र एमाले सबैभन्दा ठूला, एक्लै बहुमत ल्याएर देश चलाउँछौं भन्ने पार्टीहरू त्यसै मिल्न जाँदैनथे होला । किन मिल्नुपर्‍यो ? देशको अवस्था अप्ठ्यारो भयो । अर्थतन्त्र ओरालो लाग्यो । युवा विदेशिएको विदेशियै भए, रोक्ने कसरी ? दुनियाँ आईटीमा अगाडि बढिसक्यो, हामी अगाडि जान सकेनौं,’ दुई ठूला दल मिल्नुको कारण उल्लेख गर्दै ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले कानुन अभावमा रोकिएका धेरै काम पूरा गर्न तुरुन्तै काम थालेर अघि बढ्न कानुनका केही समस्या भएकाले अध्यादेश ल्याइएको बताए । ‘६ वटा अध्यादेशले २९ वटा कानुन बनाएर धेरै कामका लागि सजिलो हुने भएको छ तर कहीँ कतै कसैले विरोध गर्नकै लागि विरोध हुनु बेग्लै कुरा हो तर अन्य धेरै ठाउँबाट स्वागत भएको छ ।’ उनले भने ।