६ चैत्र, काठमाडौँ । गत फागुन २५ गतेको भिडलाई टक्कर दिने गरी पुर्व राजा ज्ञानेन्द्र शाहले फेरी अर्को तयारी सुरु गरेका छन् ।
त्यसको लागि ज्ञानेन्द्र आफै तयारीमा जुट्दा यतिबेला गणतन्त्रवादीहरु पनि एकजुट हुने तरखरमा देखिएका छन् ।
श्रोतका अनुसार चैत्र ९ गते झनै ठुलो जनलहर निकाल्ने तयारी गरीएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । पूजाअर्चनाका लागि उनी गोरखा जान लागेका हुन् । शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको पनि बताइन्छ ।
इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको समेत पढ्न पाइन्छ । गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइने गरेको छ । मनकामना र गोरखनाथको दर्शन गरि काठमाण्डौ फर्किदा २५ गतेको भन्दा ठुलो भिड जम्मा गर्ने तयारीमा निर्मल निवास स्वयम् लागेकाे छ ।
त्यसका लागि केहि पुर्वतयारी पनि गरिदै छ । राजेन्द्र लिंग्देन , कमल थापा र दुर्गा प्रसाईहरु राजा ल्याउछौँ भनेर तम्सिरहेका बेला पुर्व राजाकै सक्रियतामा बहुदल पछी गुमनाम बनेका पुर्व पंच नवराज सुवेदीलाई मैदानमा उतारीएको छ । उनकै नेतृत्वमा संयुक्त जनआन्दोलन समिति पनि घोसणा गरिएको छ तर गुमनाम पात्रलाई मुख्य भागमा ल्याईएपछि अन्य शक्ति भने असन्तुस्ट बनेका छन् । उनलाई ज्ञानेन्द्रकै चाहानामा ल्याईएको बुझिएको छ ।
यता राजा ल्याउने भन्दै राजनीति गरीरहेका राजे लिंग्देन, कमल थापा , दुर्गा प्रसाई , केशरबहादुर विष्ट सहितका नेताहरुले एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्दा स्वयं पुर्व राजाले नै तेस्रो विकल्प रोजेका छन् । जहाँ सुवेदीलाई कमान्डर बनाउन राप्रपाका महामन्त्री धवंसम्सेर राणा गुटले भूमिका खेलेको बुझिएको छ । यसमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको पनि साथ रहेको बुझिएको छ । यसअनुसार मिश्रलाई समितिको सदस्य सचिव पनि बनाइएको छ । तर अन्यले भने आफुहरुलाई जानकारी नगराई राखिएको भन्दै विरोध गरेका छन् । यसको अर्थ राप्रपामा पनि फेरी विवाद देखिएको छ ।
अध्यक्ष लिंग्देन र ज्ञानेन्द्र शाही सहितको संस्थापन नेतृत्व एकातिर रहदा मिश्र र राणाले भने खाटी राजावादीको परिचय बनाउन खोज्दै छन् ।
यहिबिचमा राजावादी र गणतन्त्रवादीहरू एकअर्काविरुद्ध आक्रामक सुनिँदै आएका बेला देशमा फेरी गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ । जहा सबै राजावादी एक हुदा गणतन्त्रवादी पनि एक हुने तयारीमा छन् । तर राजा फर्काउने भन्दै लागि परेका शक्तिहरु विच नै तालमेल हुन नसक्दा राजा काठमाडौं मात्रै फर्किने तर नारायणहिटी फर्किनै नसक्ने स्थिति नबन्ला भन्न पनि सकिन्न ।