अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको उपाधि हेटौँडाका सोम लामालाई

अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको उपाधि हेटौँडाका सोम लामालाई


रुपन्देही । बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनसिपको उपाधि हेटौडाका सोम लामाले जितेका छन् ।

खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७९५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् ।

बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा शुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए । त्यसपछि सरोजले लगातार ४ सेट जितेका थिए । दशौं सेट सोमले जितेर अग्रता बढाउँदा एघारौँ सेट सरोजले जिते पनि बाह्रौँ सेट जितेर सोमले उपाधिमाथि कब्जा जमाउन सफल भए ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

प्रतियोगिताको उपाधि विजेता सोम लामाले ३ लाख ३ हजार, उपविजेता सरोजले एक लाख एक हजार, हाइएस्ट ब्रेकरले सोम लामाले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुगेका बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले नगद ३०/३० हजार रुपैया पाए ।

विजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, नगरका प्रवक्ता शिव राना, आयोजक संघका अध्यक्ष सुजन पुन, बुटवल ४ का अध्यक्ष नरिश्वर पौडेल, ५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने, खेल संयोजक शिशिर गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

हाल सम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताले स्नुकर खेल र बुटवलको नाम थप उचाइमा पुराएको वक्ताहरूले बताएका थिए ।

प्रतियोगितालाई बुटवल उपमहानगरले मुख्य आर्थिक सहयोग गरेको थियो भने सिंह कम्प्लेक्सका महेशमान सिंह, आवास ग्रुपका महेश थैब, आयोजक संघका पूर्व अध्यक्ष हरि क्षेत्री, बुटवल वडा न १, ४,५,६,१० लगायत विभिन्न व्यक्ति, संघसंस्थाले आर्थिक सहयोग गरेका थिए ।