‘मायावी’ को भव्य प्रीमियर, बुकिङ खुल्ला

‘मायावी’ को भव्य प्रीमियर, बुकिङ खुल्ला


काठमाडौं– महाशिवरात्रिको दिन अर्थात फागुन १४ गते बुधवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायावी’ ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रीमियरमा विरलै उपस्थित हुने अभिनेता हमाल बुधवार साँझ कीर्तिपुरमा आयोजित दिवाकर भट्टराईद्वारा निर्देशित फिल्मको प्रीमियरमा भने पूरै समय दिएका थिए ।

कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रीमियर शोमा फिल्म हेर्न आफू निकै उत्साहित रहेको बताउँदै सिनेमा हल भित्र प्रवेश गरेका अभिनेता हमालले फिल्म हेरेपछि भने– ‘यो फिल्ममा हरेक कुरा छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीत–संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । ब्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् । यसैले, मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।’

अभिनेता हमाल भन्दै थिए– ‘मैले अहिलेसम्म हेरेका लभ स्टोरीभन्दा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाइएको रहेछ । यो लभ स्टोरी फिल्म विशेष छ ।’

अभिनेता हमालले यसको प्रस्तुति निकै मन परेको बताए । फिल्मका निर्देशक दिवाकर भट्टराइको पछिल्लो फिल्म ‘नरसिंहाः अवतार’ मा काम गरेका अभिनेता हमालले भने– ‘मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो । तर, यसको मेकिङ निकै राम्रो छ । त्यसैले, दिवाकरजीलाई वधाई दिन चाहन्छु । फिल्मको सुरुवातदेखि अन्त्यसम्म एउटा गति समातेर अगाडि बढेको छ । यसैले, दर्शकले यो फिल्म मन पराउनु हुन्छ भन्ने लागेको छ ।’

‘मायावी’ को प्रीमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, मिस नेपाल उषा खड्गी, अभिनेत्री सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाललगायत पुगेका थिए । यस्तै, फिल्मका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंश महर्जन, नयाँ अभिनेता समीम खान पनि पुगेका थिए । फिल्मका मुख्य अभिनेता पल शाह भने ‘मोहर’ फिल्मको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन् ।

फिल्म हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा फिल्म बनेको फिल्मीकर्मीको भनाई छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो फिल्मले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ । फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन् ।

त्यस्तै, क्रियटिभ सिने आर्टसका लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन् । फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।

खुल्यो बुकिङ
यसैबीच, यो फिल्मको बुकिङ देशभरका मल्टिप्लेक्सले खुलाएका छन् । सोमवार साँझदेखि नै देशभरका मल्टिप्लेक्समा फिल्मले सुखद शो पाएको छ । क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्सले फिल्मको शो खुलाएका हुन् ।