सुनको मूल्यमा नयाँ रेकर्ड कायम!

सुनको मूल्यमा नयाँ रेकर्ड कायम!


काठमाडौँ, १३ फागुनः  सुनको मूल्यले आज मंगलबार अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ गरेको छ । 

गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेकोमा आज प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । 

सोमबार एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला पाँच सय रुपैयाँ वृद्धि हुँदा अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको महासंघले जनाएको छ । 

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो ।  सरकारले भन्सार दर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य एक हजार नौ सय ८५ रुपैयाँ थियो ।