तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरेले जानकारी दिए।
सरकारी वकिलले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका हुन्।
चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर भएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो।
उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो।
उनलाई पक्राउ गरी कारबाहीका लागि सर्लाही पठाएको थियो। अनुसन्धान र अभियोजन गरी अदालतमा पेस गरेको थियो।
अदालतले गत असार १७ गते जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। पीडितलाई बालिकालाई ५ लाख क्षतिपूर्ति दिन पनि भनिएको थियो। उनीविरूद्ध रौतहटकी गंगामाया तामाङले जाहेरी दिएकी थिइन्। आफू १४ वर्षकी हुँदा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन्।
बमजनले आफूलाई बलात्कार गरेको भन्दै गंगामायाले पत्रकार सम्मेलन गरेकी थिइन्। त्यसपछि जाहेरी दिन प्रहरीमा गएकी उनलाई प्रहरीले बालअधिकारसम्बन्धी संस्थामा पठाएको थियो।
उक्त घटनाको तीन महिनापछि बमजनले आश्रमहरूमा गरेको हत्या, व्यक्ति बेपत्ता, हिंसा र बलात्कारका घटनामा तीन महिनासम्म अनुसन्धान गरी तयार पारेको फेहरिस्त सेतोपाटीमा प्रकाशित भएको थियो। सेतोपाटीले गंगामायामाथि बमजनले गरेको बलात्कार र आश्रममा चलाएको अपराधको शृंखलाबारे पाँच स्टोरी प्रकाशन गरेको थियो।
धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।
बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्। बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका थिए।