काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेला स्नान गर्न रूपन्देहीको देवदहबाट गएका तीर्थालुहरू चढेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटनामा परेको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले जानकारी दिए।
शनिबार देवदहबाट गएका उनीहरू फर्किन क्रममा सोमबार बिहान दुर्घटनामा परेको उनले जानकारी दिए।
यहाँबाट तीन-चारवटा गाडीमा तीर्थालुहरू कुम्भ मेला जानुभएको रहेछ। फर्किने क्रममा एउटा सानो गाडी दुर्घटनामा परेको खबर आएको छ। तीन जनाको मृत्यु भएको र अरू दुई–तीनजना घाइते भएको सुनेका छौं। अझै पूर्ण विवरण आएको छैन,’ उनले भने।
खरेलले दुर्घटनामा परी देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्माको मृत्यु भएको जानकारी दिए।
देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री लगायतको टोली कुम्भ मेलामा गएको उनले जानकारी दिए।
कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडीसँग ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको जानकारी आएको उनले बताए।