काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा ३ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘होस्टेल ३’सहित हलिउडको ‘मिकी १७’ र जापानको ‘ओभरलड : द सेक्रेड किङडम’ रिलिज भए ।
‘होस्टेल ३’को रनटाइम १६५ मिनेट छ । निर्माता, निर्देशक र कलाकार हेरफेरसहित ‘होस्टेल’को तेस्रो श्रृंखला सार्वजनिक भएको हो । विद्यार्थीको होस्टेल र कलेज जीवनको कथावस्तुमा बनेको फिल्मलाई सशान कँडेल ‘सन्तोष’ले निर्देशन गरेका हुन् ।
‘जेन-जी’ पुस्ताका दर्शकलाई यो फिल्मको कथावस्तु रुचिकर हुनसक्छ । शुक्रबार बिहान यो फिल्मको देशब्यापी अकुपेन्सी १५ प्रतिशत हाराहारीमा देखिएको छ, जुन अपेक्षाभन्दा न्यून हो । फिल्मको ट्रेलर र टिजरले युट्युबमा चर्चा बटुलेको थियो ।
यो फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाय’, रिहान गिरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे लगायतको अभिनय छ । यी सबै कलाकारको यो डेब्यु फिल्म समेत हो । हलिउड फिल्म ‘मिकी १७’ले एडल्ट सर्टिफिकेट पाएको छ । यो फिल्मलाई १७ वर्ष उमेरभन्दा तलका दर्शकले हेर्न पाउनेछैनन् । १३७ मिनेट रनटाइमको यो फिल्मलाई एड्भेन्चर ड्रामा जनरामा राखिएको छ ।