काठमाडौं : दुई महिना बढी समयमा ८० लाखसम्म खर्च गरेर अवैध बाटोबाट अमेरिका पुगेका नौ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर बुधवार नेपाल फर्कायो। चार्टर विमानबाट अमेरिकाले डिपोर्ट गरेर नेपाल फर्काएकाहरूले अध्यागमन विभाग अनि मानव बेचबिखन ब्युरोका प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरूको हातमा हतकडी अनि खुट्टामा नेल लगाएर नेपाल ल्याइएको हो।
अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयता यसरी नै ३५ नेपाली नागरिक अमेरिकाबाट निष्कासित भइसकेका छन्। बुधवार नेपाल फर्काइएकाहरू डोटी, दाङ र रुकुमका युवा-युवतीहरू रहेको ब्युरोका एक अधिकारीले जानकारी दिए।
प्रहरीले नेपालबाट अवैध रूपमा अमेरिका लैजान सक्रिय समूहको पहिचान गर्न अमेरिकाबाट फर्काइएकाहरूसँग बयान लिएको थियो। बयानकाक्रममा उनीहरूले ५० देखि ८० लाखसम्म खर्च गरेर अवैध रूपमा विभिन्न देश हुँदै दुई महिनामा अमेरिका पुगेको बताएका छन्। तर उनीहरूले कसले अमेरिका पठायो भन्ने जानकारी दिन चाहेका छैनन्।
डिपोर्टमा परेकाहरू अधिकांश ६ महिना अगाडि मात्रै अवैध रूपमा अमेरिका पुगेका थिए। केहीले शरणार्थीको मान्यताका लागि आवेदन पनि दिएका थिए। तर ती सबैलाई अमेरिकाले नियन्त्रणमा लिएर चार्टर्ड विमानमा राखेर नेपाल फर्काइदियो।
अमेरिकाले अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्ने नीति लिएसँगै विभिन्न देशका नागरिकहरूलाई कहिले सेनाको विमानमा त कहिले नियमित र चार्टर्ड विमानबाट सम्बन्धित देशमै फिर्ता पठाउने गरेको छ। अधिकांश देशमा यसरी डिपोर्ट गर्दा हातमा हतकडी र खुट्टामा नेल लगाउने गरेको छ। यसरी नै अवैध भारतीयहरूलाई भारत फिर्ता गर्दा भारतको सांसदमै हङ्गामा भएको थियो।