काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको हो ।
प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।
डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । प्रतियोगितामा सहभागिता हुन इच्छुकहरुले बैंकको वेवसाइट मार्फत दर्ता गर्नुपर्ने छ ।
यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुती र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।
पहिलो चरणको लागि प्रतियोगिहरुले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुती गर्नुपर्ने छ । साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।