
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटवलको फाइनल खेल चलिरहेका बेला एकजना दर्शकलाई अरु दुई तीनजनाले झम्टिएको भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले उनीहरुलाई छुट्याएको पनि देखिन्छ ।
सामाजिक संजालमा भाइरल भएको भिडिओमा युवा संघका कार्यकर्ताले दर्शक कुटेको भनिएको छ । सोही भिडिओमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि एमाले कार्यकर्ताले कुटपिट गरेको क्याप्सनहरु पनि राखिएका छन् । ती युवकका कारण खेल हेर्न नपाएको भन्दै सँगै बसेका दर्शकले बाहिर निकाल्न तर नकुट्न आग्रह गरेका थिए ।
भिडिओमा देखिएका ती युवालाई युवा संघका कार्यकर्ताले समातेका छन् । ‘केही बोल्न नपाइने हो ?’ भन्ने स्वर त्यहाँ सुनिन्छ, त्यसबाहेक अरु छैन । होहल्ला भएको ठाउँमा प्रहरी प्रभाग मालीगाउँका डिएसपी प्रहरी नायव निरीक्षक सुनिलजङ्ग शाहलगायत प्रहरी अधिकृतहरु गएर छुट्याएकोसम्म देखिन्छ ।
थप अप्रिय घटना हुन नपाउँदै ती युवकलाई रंगशालाबाट सुरक्षित बाहिर निकालेर घर पठाइएको प्रहरीले जनाएको छ । डोल्पा घर भएका बुढा थरका ती युवकको परिचय प्रहरीले सार्वजनिक गर्न चाहेन ।
घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने- दर्शकले बुफोन बुफोन भनेर हुटिङ गरिरहेका बेला त्यो भाइले प्रधानमन्त्रीको नाम लिएर अमर्यादित नारा लगाएपछि छेउछाउका दर्शकले के बोलेको भन्दै थिए । अर्कोतिरबाट युवा संघका केटाहरुले पनि सुनेपछि झम्टिन गए । तर हामीले तत्कालै परिस्थिति बिग्रन नदिई उसलाई बाहिर निकालेर सम्झाइ बुझाइ गरेर पठायौं । पक्राउ गरिरहन पर्ने अवस्था देखिएन । डोल्पाको केटा रहेछ,पहिले माओवादी थिएँ अब राजा चाहिन्छ भन्दै थियो तर हामीले उसलाई गेट बाहिर पठायौं, सोधखोज गरेनौं ।
युवा संघका कार्यकर्ताले भने भव्य कार्यक्रम बिथोल्ने योजनाबमोजिम नियोजितरुपमा नाराबाजी गर्न खोजेपछि आफूहरुले रोकेको बताएका थिए । युवा संघका दुई तीनजनाले ती युवकलाई समातेर झाँगलझुगल पार्न थालेपछि उनी अर्को सीटतिर गएका थिए ।
त्यहिँ झम्टिन थालेपछि प्रहरीले घेरेर उनलाई निकालेको थियो । आक्रमण गर्ने युवा संघका कार्यकर्ता सिन्धुपाल्चोकका जंग तामाङ भएको बताइएको छ ।