बेलायतमा यसरी मनाइयो २६२ औं सेना दिवस

बेलायतमा यसरी मनाइयो २६२ औं सेना दिवस


२६२ औं नेपाली सेना दिवसको अवसरमा, लन्डनस्थित नेपाली दूतावासले बुधबार साँझ एक भव्य समारोहको आयोजना गरेको छ। उक्त समारोहमा बेलायती सेनाका प्रधानसेनापति जनरल सर रोली वाकर, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसहित विभिन्न क्षेत्रका १५० भन्दा बढी अतिथिहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रममा बोल्दै राजदूत घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र स्थायी विरासतको स्मरण गरे। उनले नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको रक्षा, राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाको योगदान र सम्पूर्ण मानवताको बृहत्तर हितको सेवा गर्ने प्रतिवद्धतामाथि पनि जोड दिए। यो दिवसले नेपाल र बेलायतबीचको सैन्य र कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास समेत उनले व्यक्त गरेका छन्। 

राजदूत घिमिरेले ब्रिटिश सेनामा सेवा गर्ने गोर्खाहरूको अनौठो परम्परामाथि पनि प्रकाश पारे। उनका अनुसार गोर्खाहरू दुई शताब्दीभन्दा बढी समयदेखि दुई देशहरू बीचको स्थायी र दृश्यात्मक सम्बन्धको रूपमा रहिआएका छन्। नेपाली सेनाको सम्मानित इतिहास र ब्रिटिश सेनासँगको यसको लामो समयदेखिको सम्बन्धलाई सम्झदै, राजदूतले नेपाल र नेपाली सेनालाई निरन्तर सहयोग गरेकोमा बेलायती सरकारलाई धन्यवाद पनि दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरले नेपाली सेना र बेलायती सेनाबीचको लामो समयदेखिको सम्बन्धप्रति खुशी व्यक्त गरे। उनले नेपाली सेनाको समर्पण, बफादारी र व्यावसायिकताको प्रशंसा गर्दै भविष्यमा थप सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन्। सन् २०२५ मा नेपाल र बेलायतबीचको सैन्य सहकार्यले नयाँ उचाइ हासिल गर्न सक्ने आशा पनि व्यक्त गरेका छन्।