काठमाडौँ — काठमाडौँको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरले ‘नेशनल साईबर ओलम्पियाड २०८१’ मा पहिलो स्थान हासिल गरेको छ । प्लस टू संस्करणको प्रतियोगितामा काठमाडौँ मोडल कलेजले दोस्रो र चौथो स्थान हासिल गर्यो भने कलेज अफ बिजनेस म्यानेजमेन्ट तेस्रो भएको थियो ।
विजेता क्यापिटल कलेजले ३० हजार रुपैयाँ, ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरेको थियो भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने कलेजलाई पनि सम्मानित गरिएको थियो ।
फागुन ५ गतेदेखि काठमाडौँमा सुरु भएको यो प्रतियोगिताको अन्तिम स्पर्धा फागुन १५ मा रसियन हाउस, कमलपोखरीमा सम्पन्न भएको थियो । प्रतियोगितामा कुल २४ विद्यालयका ७२ जना विद्यार्थी सहभागि भएको र चारवटा प्लस टू कलेजका टिम फाइनलसम्म पुगेको आयोजक प्रशिक्षण नामक संस्थाले जानकारी दिएको छ ।
साईबर ओलम्पियाड अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता हो । सूचना प्रविधि क्षेत्रमा विद्यार्थीहरूको ज्ञान र सीपलाई अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।कार्यक्रमका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले आगामी वर्षमा प्रतियोगिता सातवटै प्रदेशमा आयोजना गर्ने योजना रहेको जानकारी दिए।