के तपाईँको टिकटकमा पनि आयो ६० मिनेटसम्म भिडिओ अपलोड गर्ने सुविधा ?

के तपाईँको टिकटकमा पनि आयो ६० मिनेटसम्म भिडिओ अपलोड गर्ने सुविधा ?


काठमाडौं । छोटो भिडिओको लागि चर्चित टिकटकले अहिले ६० मिनेटसम्मका भिडिओ अपलोड गर्ने सुविधा परीक्षण गरिरहेको छ । पछिल्ला दिनमा नेपालका केही प्रयोगकर्ताले आफ्नो टिकटकमा यो फिचर आएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

टिकटकले यो फिचर केही देशका निश्चित प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको बताए पनि नेपाली प्रयोगकर्ताले यो सुविधा पाएका थिएनन् । नेपालका केही कन्टेन्ट क्रियटरले यो सुविधा पाएको जानकारी दिएका छन् ।  

विशेषज्ञहरूका अनुसार, टिकटकले युट्युबका दर्शकलाई आकर्षित गर्न लामो भिडिओ फिचर ल्याउने रणनीति अपनाएको हुनसक्छ ।  यो परिवर्तनले टेलिभिजन शोका पूर्ण एपिसोडदेखि अन्य लामा भिडिओहरू पोस्ट गर्न सहज बनाउने बताइएको छ ।

टिकटकले सन् २०१६ मा पहिलोपटक १५ सेकेन्डका छोटा भिडिओ अपलोड गर्न सकिने सुविधा ल्याएको थियो । त्यसपछि ६० सेकेन्ड, तीन मिनेट र १० मिनेटसम्मको सीमा बढाउँदै आएको थियो ।

हाल कम्पनीले १५ र ३० मिनेटको भिडिओ अपलोड गर्ने फिचरमा पनि काम गरिरहेको छ । तर, ६० मिनेट भिडिओ सुविधा कहिलेसम्म विश्वभर उपलब्ध हुनेछ भन्ने विषयमा टिकटकले केही खुलाएको छैन ।

आफ्नो टिकटक अकाउन्टमा यो सुविधा आएको छ कि भनेर जाँच गर्न एप अपडेट गर्नुहोस् ।