नेपाली विधार्थीलाई होस्टेल फर्काउन दिल्लीस्थित नेपाली दुतावासको प्रयास जारी 

नेपाली विधार्थीलाई होस्टेल फर्काउन दिल्लीस्थित नेपाली दुतावासको प्रयास जारी 


भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन्।

विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न र विद्यार्थीहरूलाई कलेजको होस्टेलमा फर्काउन दूतावासका अधिकारीहरू ओडिसा गएका छन्।

उनीहरू मंगलबार मध्याह्न १२ बजेसम्म ओडिसा पुग्ने र विद्यार्थीहरूसँग छलफल गर्ने भारतका लागि नेपाली राजदूत शंकर शर्माले सेतोपाटीलाई जानकारी दिए।

‘कलेजले सोमबार नै विद्यार्थीहरूसँग माफी मागेर उनीहरूलाई होस्टेल फर्काउन पहल गरिरहेको छ, विद्यार्थीहरूलाई छोडेकै ठाउँमा कलेजको गाडी लिन पुगेको खबर गरेको छ,’ शर्माले भने, ‘तर पनि विद्यार्थीहरूले सुरक्षित महसुस गरेका छैनन्, समन्वय गर्न दिल्लीस्थित नेपाली दूतावासका दुई जना अधिकारीहरू मंगलबार बिहानै ओडिसा प्रस्थान गर्नुभएको छ।’

राजदूत शर्माका अनुसार काउन्सिलर (एसएसपी) सञ्जिव शर्मा दास र नवीन अधिकारी ओडिसा गएका हुन्। विद्यार्थीहरूले सम्पर्क गर्न दूतावासले सार्वजनिक गरेको हटलाईन ‌+९१८९२९६०१९२५ उनीहरूसँगै रहेको र जुनकुनै पनि समस्या पर्दा उक्त हटलाइनमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

आइतबार साँझ रूपन्देही सिद्धार्थनगर वडा नम्बर ८ कि २० वर्षीया प्रकृति लम्साल कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। उनको मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटना शंकास्पद रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन गरेका थिए।

उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी उत्तर प्रदेशका एडविक श्रीवास्तव छन्। उनीमाथि अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पक्राउ परेका युवकविरूद्ध प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई उजुरी दिदाँ पनि कलेज प्रशासनले चासो नदिएको नेपाली विद्यार्थीको गुनासो छ। त्यसैले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।

त्यसपछि कलेज प्रशासन उनीहरूमाथि थप निर्मम बनेको थियो। विद्यार्थीहरूलाई हातपात गर्दै होस्टेलबाट निकालिएको भिडिओ सोमबार नै सार्वजनिक भइसकेको छ। कलेजको गाडीले विद्यार्थीहरूलाई उडिसाको कटक रेल्वे स्टेसन, भुवनेश्वरको बस र रेल्वे स्टेसन, ओडिसाकै विमानस्थलमा लगेर छाडेको त्यहाँबाट सेतोपाटीको सम्पर्कमा आएका विद्यार्थीहरूले बताएका छन्।

‘हामीलाई घर जान पर्छ भन्ने पनि थाहा थिएन। उनीहरूले हामीलाई घर कसरी जान्छौं भनेर सोध्दा पनि सोधेनन्। गाडीमा जबरजस्ती हालेर रेल्वे, बस स्टेसन र विमानस्थलमा ल्याएर छोडिदिए,’ एक विद्यार्थीले भने, ‘कतिपय साथीहरू नेपाल गइसके, कतिपय बाटोमै छन्। हामीहरू आसपासका होटेलमा बसिरहेका छौं।’

उक्त विश्वविद्यालयमा करिब ११ सय नेपाली विद्यार्थी अध्ययनरत छन्।

ती सबै विद्यार्थीलाई विश्वविद्यालयले सोमबार बिहान निकालिएको भएको सूचना दिएको थियो। त्यसपछि उनीहरूलाई कलेज निकाला गरिएको थियो। घटनाको ६ घन्टापछि विद्यार्थीहरूसँग माफी मागेर कलेज फर्किन आग्रह गरेको थियो। विश्वविद्यालयको गाडी उनीहरूलाई लिन छाडिएको स्थानमा पुगेको पनि थियो तर विद्यार्थीहरू फर्किन भने सकेनन्।

‘नेपालबाट पनि र दिल्लीमा रहेका हाम्रो दूतावासबाट पनि प्रेसर भएपछि युनिभर्सिटीले सस्पेन्ड गरेको ६ घण्टापछि फर्किनु भन्यो,’ ती विद्यार्थीले भने, ‘तर हामी जान सकेका छैनौं। बाहिर नै होटेल लिएर बसिरहेका छौं। कन्डिसन कस्तो छ भन्ने थाहा पाएर मात्रै होस्टेल फर्किन्छौं।’

सेतोपाटीको सम्पर्कमा आएकी एक छात्राले आफूहरू नेपाल फर्कंदै गरेको बताइन्। उनले अहिले कोलाकाता आइपुगेको र रेलमा थुप्रै विद्यार्थीहरू रहेको बताइन्।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतक प्रकृतिको शव ओडिसाको एक हस्पिटलमा राखिएको छ।

उनका बुवा सुनिल लम्साल सोमबार राति नै ओडिसा पुगेकाले मंगलबार शवको पोस्टमर्टम हुनेछ। पक्राउ परेका आरोपी विद्यार्थी एडविक श्रीवास्तवमाथि भुवनेश्वर प्रहरीले आत्महत्या दुरूत्साहनमा छानबिन गरिरहेको भारतीय सञ्चार माध्यहरूले जनाएका छन्। आत्महत्या दुरूत्साहन पुष्टि भए भारतीय कानुनअनुसार ती विद्यार्थीलाई १० वर्षसम्म कैद हुनेछ।