दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताउँदै विकास र समृद्धिका लागि तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।
प्रधानमन्त्री ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे । उनले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्धि बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए । संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ ।
हालै निर्माणसम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । साथै, सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने बताउँदै उनले रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए ।